प्रविधिको प्रयोग गरी तरकारी खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर | भदौ ८, २०७९

प्रविधिको प्रयोग गरी तरकारी खेतीबाट मनग्य आम्दानी


कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैवाहका रामलाल चौधरी व्यावसायीक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित हुनुहुन्छ । गतवर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल  तरकारी फलाएर रु १२ लाख पचास हजार आम्दानी हात पार्नुभएको छ । काउली, बन्दा, गोलभेँडा, घ्यू सिमी, बोडीलगायत बारीमा रोपेर आम्दानी भएको उहाँले बताउनुभयो ।
 

“बेमौसमी वर्षाले १० कठ्ठामा लगाएको तरकारी टिप्नै पाएनौँ”, उहाँले भन्नुभयो, “हार मानिन्, त्यसपछि पुनः तरकारी लगाए नाफा बढी भयो, तरकारी हातोहात बिक्री पनि भयो ।” गत वर्षभन्दा बढी आम्दानी लिनका लागि उहाँले नौलो प्रविधिलाई आत्मसात गर्ने योजना बनाउनुभएको छ । उहाँले युट्युबमा हेरेर मिनी टिलरमा लाग्ने हलोसँगै आवश्यक अन्य औजार निर्माण गर्नुभएको छ ।  

 

तरकारी खेती गर्नका लागि प्रयोगमा आउने अन्य औजार र उपकरण प्रयोगमा ल्याउने तयारी उहाँको रहेको छ । “पहिला गोरुले खेत जोत्दा समय निकै लाग्ने र सोचे जस्तो खेत तयार गर्न सकिदैनथ्यो”, उहाँले भन्नुभयो, “हाल खेत जोत्नका लागि गोरु छैनन्, मिनीटिलर र पावर टिलरको प्रयोग गर्छु, तरकारी खेतीका लागि खेत तयार गर्न मेसिनरी र आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि उत्पादन बढेको छ ।” 

 

तरकारी बारीमा गोबर मलको प्रयोग गर्नका लागि भैँसी भने उहाँले पाल्नुभएको छ । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न चौधरीसँग स्वामित्वको एक बिघा १० कठ्ठा जग्गा छ । त्यसमध्ये छ कठ्ठा जग्गा उहाँले तरकारी खेतीको आम्दानीले जोडनुभएको हो । यस वर्षको हिउँदे तरकारी लगाउनका लागि चौधरीले बेर्ना तयार गरिसक्नुभएको छ । 

 

“काउली, बन्दा, गोलभेडा लगायतका तरकारीका बेर्ना तयारी अवस्थामा छ”, उहाँले भन्नुभयो, “ग्रिननेटमा लगाउनका लागि कार्य अगाडि बढाइएको छ, खुला ठाउँमा गरिने तरकारी खेतीभन्दा ग्रिनेनेटमा गरिने तरकारी खेतीले बढी उत्पादन दिन्छ, त्यसैले यसकै तयारीमा छौँ ।” तरकारी खेतीबाहेक अरु जग्गामा लगाएको हर्दिनाथ जातको धान पाक्नै आँटेको छ । एक दुई दिनमा धान काटन सुरु गर्ने चौधरीले बताउनुभयो ।

 

 “धान काटेपछि खेत तयार गरी त्यसमा समेत तरकारीका बिरुवा रोप्छौँ”, उहाँले भन्नुभयो, “कामको व्यस्तता निकै छ, परिवारमा रहेका दुई छोरा र श्रीमतीले समेत तरकारी खेतीका लागि सहयोग गर्दै आएका छन्, त्यसैले काम गर्न सहज भएको छ ।” नौ कठ्ठा जग्गामा लगाएको हर्दिनाथ धानको उत्पादन २० क्वीन्टल बढी हुने उहाँले अनुमान गर्नुभएको छ । गतवर्ष सोही जग्गामा उहाँले १८ क्वीन्टल धान उत्पादन गर्नुभएको थियो । यस वर्ष दश कठ्ठा जग्गामा तरकारी खेती र एक बिघा जग्गामा केरा खेती गर्ने योजनासमेत रहेको उहाँले सुनाउनुभयो ।
 

“तरकारी खेतीसँगै केरा खेती गर्ने योजना बनाएको छु”, उहाँले भन्नुभयो, “आधुनिक तरिकाले केरा खेती गर्ने तौरतरिका इन्टरनेटबाट र गाउँपालिकाको कृषि शाखका प्राविधिकबाट सिकेको छु ।” तरकारी खेतीकै कमाइबाट चौधरीले कैलालीको धनगढीमा घडेरी, गाउँमा पक्की घर, मेसिनरी औजार, सिँचाइका लागि बोरिङ, विद्युतीय मोटरलगायतका सामान जोड्नुभएको छन् । तरकारी बेच्नका लागि ५० प्रतिशत अनुदानमा उहाँले अटो रिक्सासमेत पाउनुभएको छ । उत्पादित तरकारी स्थानीय बजारदेखि महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको छ ।

 

 भारतसँगै सीमा जोडिएको क्षेत्र बैवाह भएकाले भारतीयले समेत घरबाटै फुटकर रुपमा तरकारी खरिद गरेर लैजाने गरेका छन् । रामलाल जस्तै बैवाह गाउँका अन्य दुई जनाले समेत दश कठ्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ । दुई कठ्ठादेखि पाँच कठ्ठासम्म तरकारी खेती गर्ने किसान भने १२ जनाजति रहेका छन् । प्रविधिको प्रयोग गरी तरकारी खेती गर्नेमा गाउँका एक्ला रामलाल मात्रै रहनुभएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्